क्यान्सर बिरामीहरुको मनोबल बढाउन र्याम्प शोले महत्वपूर्ण भूमिका खेल्छ : स्वरुपा श्रेष्ठ

जब हामीले क्यान्सर उपचारका लागि नेपाल क्यान्सर अस्पतालको स्थापना गर्याै । मानिसहरुलाई क्यान्सर लागेको सुरुवाती चरणमा यो रोग निको हुँदैंन भन्ने डर तथा त्रास रहेको हामीले थाहा पायौं

सुरुवाती चरणमा क्यान्सर रोग पहिचान भई पूर्णरुपमा निको भएका धेरै मानिसहरु नेपालमा भएपनि अझै मानिसहरुमा क्यान्सर रोग लागेपछि निको हुँदैंन, यो भयानक रोग हो भन्ने धारणा रहेको छ । क्यान्सर रोग लागेपछि मानिसहरुको हौसला कसरी बढाउने भन्ने अध्ययनसहित हामीले क्यान्सर जितेका मानिसहरुको अनुभव साटासाट गर्नका लागि क्यान्सर ¥याम्प शोको आयोजना गर्दै आइरहेका छौं । 

हामीले करिब ५ वर्ष पहिले २०१८ मा पहिलो र्याम्प शो गराएका थियौं । त्यतिबेला क्यान्सर जितेका मानिसहरु समाजमा खुल्न नै चाहदैंन थिए , त्यसैले हामीलाई धेरै ग्राहो पनि भएको थियो । त्यसबेला २४ जना क्यान्सर बिजेता लाई र्याम्पमा हिंडाउन सकेका थियौं । अहिले मानिसहरु खुल्ने क्रम बढेकोले सहभागिताका लागि हामीलाई धेरे नै सजिलो भएको छ ।  यसले क्यान्सरको क्षेत्रमा काम गर्नका लागि थप हौसला प्रदान गरेको छ । 

अहिले नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा रहेका बिरामीहरुले समेत निको भइसकेपछि शोमा जाने इच्छा देखाएका छन । यसपटकको शोमा सहभागिताका लागि ६० जनाले सम्पर्क गरिसकेका छन । अझै पनि आउने इच्छा देखाएकाहरुलाई भने अर्काे पटक समय दिन्छौं भन्नुपर्ने बाध्यता रहेको छ । यस पटकको शोमा २ वर्षदेखी ८० वर्षसम्मका क्यान्सर विजेताहरुको अनुभव सुन्न पाइने छ । 

यस प्रकारको शोमा सहभागि भइसकेपछि पछि उहाँहरुको प्रतिक्रिया एकदमै सकारात्मक भएको पाएका छौं । नेपाल क्यान्सर सपोर्ट ग्रुपले क्यान्सर रोग लाग्नै नदिनका लागि गाउँ गाउँका बिद्यालयहरुमा गएर जनचेतना बढाउने काम गरिरहेको छ। हामीले विभिन्न स्कुल तथा कलेजहरुमा चिकित्सकसहित जनचेतना बढाउने काम गरिरहेका छौं । एकदमै निम्न आर्थिक अवस्था भएका क्यान्सर बिरामीहरुका लागि हामीले आर्थिक सहायता समेत दिदैं आइरहेका छौं । कतिपय बिरामीहरुलाई हामीले निशुल्क उपचार समेत गरेका छौं । 

गाउँ गाउँमा क्यान्सर रोग लाग्नै नदिनका लागि जनचेतनाको आवश्यकता पर्ने गर्छ। सहरी क्षेत्रका मानिसहरुलाई म के भन्न चाहन्छु भने जसरी आफ्नो गाडीको बेला बेलामा सर्भिसिङ गर्नुहुन्छ त्यसरी नै बेला बेलामा आफ्नो स्वास्थ्यको पनि परीक्षण गर्नुहोस् । यसरी स्वास्थ्य परीक्षण गराउदा जुनसुकै रोग पनि सुरुवाति चरणमा थाहा पाउन सकिन्छ । यदि क्यान्सर पनि सुरुवाती चरणमा नै थाहा पाउन सकियो भने उपचार प्रक्रिया सहज हुन्छ । 

क्यान्सर उपचारमा आएका विभिन्न प्रविधिले यसको उपचारलाई धेरै नै सहज बनाइदिएको छ ।  यो पनि अन्य रोग जस्तै हो र नेपालमै क्यान्सरको उपचार छ भन्ने जानकारी म गराउन चाहन्छु । 

क्यान्सर  लागिसकेपछि पहिलेजस्तै गरी सहज रुपमा जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि यो शो निक्कै नै महत्वपूर्ण छ । क्यान्सर पीडित भई उपचार पश्चात् निको भएका कुनै पनि बिरामीले आफ्नो अनुभव अन्य बिरामीलाई सुनाउँदा त्यसले बिरामीको मनोबल बढाउने तथा रोग निको पार्नका लागि सहयोगी बन्छ भन्ने निश्कर्षका साथ हामीले यस्ता शो गराएका हौं ।क्यान्सरका बिरामीहरुको  मनोबल बढाएर स्वस्थ जीवन जिउन सहयोग गर्नु यस शोको मुख्य लक्ष्य हो । 

त्यस्तै विदेशमा पाइने सम्पूर्ण क्यान्सर उपचार नेपालमा नै पाइन्छ भन्ने सन्देश दिनका लागि पनि यस शोले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।