‘चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ सम्पन्न, १०० भन्दा बढी क्यान्सर विजेताले दिए आत्मविश्वासको सन्देश

क्यान्सरलाई पराजित गरी सामान्य जीवनमा फर्किएका व्यक्तिहरूको आत्मविश्वास, साहस र प्रेरणादायी यात्रालाई सम्मान गर्ने उद्देश्यले आयोजित ‘चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ सम्पन्न भएको छ।

र्‍याम्प शोमा क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका १०० भन्दा बढी क्यान्सर सर्भाइभरले आत्मविश्वासका साथ र्‍याम्पमा प्रस्तुति दिएका थिए। उनीहरूको सहभागिताले क्यान्सर अन्त्य नभई उपचारपछि पनि नयाँ जीवन सुरु गर्न सकिने सन्देश दिएको आयोजकले जनाएको छ।

कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले क्यान्सरबारे समाजमा अझै पनि डर र भ्रम रहेको उल्लेख गर्दै समयमै परीक्षण, सही उपचार र परिवार तथा समाजको साथ पाए अधिकांश बिरामीले सामान्य जीवनमा फर्कन सक्ने बताइन्। उनले क्यान्सर विजेताहरूको आत्मविश्वासपूर्ण प्रस्तुतिले समाजमा आशा, हौसला र सकारात्मक सोच फैलाउने विश्वास व्यक्त गरिन्।