नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, ललितपुर महानगरपालिका वडा नं. २३, नेपाल क्यान्सर सपोर्ट ग्रुप, र उपचारका लागि सहयोगी हातहरु संस्थाको सहकार्यमा ललितपुरमा स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरियो। पुष ५ र ६, २०८१ मा आयोजित यो शिविर prostate cancer (PSA) र cervical cancer (HPV/DNA) परीक्षणहरू मार्फत प्रारम्भिक पहिचान र जनचेतनामूलक गतिविधिमा केन्द्रित थियो।
यस कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा र सामुदायिक नेताहरूको सक्रिय सहभागिता रह्यो। क्यान्सर जस्ता रोगहरूलाई समयमा नै पहिचान गर्न र आवश्यक उपचार गराउन जनचेतना अभिवृद्धि गर्नु कार्यक्रमको प्रमुख उद्देश्य थियो। वरिष्ठ चिकित्सकहरूले प्रारम्भिक परीक्षणको महत्व र यसको प्रभावकारी उपचारमा महत्वपूर्ण भूमिका रहेको कुरा जोड दिए।
कार्यक्रमको क्रममा, एक मेडिकल अंकोलोजिस्टले क्यान्सर उपचारमा आफ्नो विशेषज्ञ भूमिकाबारे प्रकाश पारे। उनले मेडिकल अंकोलोजिस्ट क्यान्सरका बिरामीहरूको निदान, उपचार र व्यवस्थापनमा समर्पित चिकित्सकहरू भएको र उनीहरूले किमोथेरापी, इम्युनोथेरापी र टार्गेटेड थेरापी जस्ता उन्नत प्रविधिहरूको उपयोग गरेर उपचार गर्ने कुरा स्पष्ट पारे। चिकित्सकले उपचार बाहेक बिरामीलाई भावनात्मक सहयोग र मार्गदर्शन गर्नको लागि पनि आफ्नो भूमिका महत्वपूर्ण रहेको बताए।
उपचारका लागि सहयोगी हातहरू संस्थाकी अध्यक्ष तथा एनसीएसजीकी उपाध्यक्ष श्रीमती स्वोरूपा श्रेष्ठले नेपालमा क्यान्सर उपचारको प्रगतिको विषयमा आफ्ना विचार राख्दै भनिन्, “एक समय थियो, जब नेपालमा क्यान्सर अस्पताल थिएन, र धेरैका लागि उपचार असम्भव जस्तै लाग्थ्यो। आज हामी गर्वका साथ भन्न सक्छौं कि नेपालमै क्यान्सर उपचार सम्भव छ। यस्ता स्वास्थ्य शिविरहरूले यसमा थप योगदान पुर्याइरहेका छन्।”
वडा नं. २३ को सामुदायिक स्वास्थ्यप्रतिको प्रतिबद्धतास्वरूप आयोजित यो वार्षिक कार्यक्रमले आवश्यक क्यान्सर परीक्षण र जनचेतनाको सेवा उपलब्ध गराउँदै आएको छ।