‘हाम्रो मुख्य उद्देश्य क्यान्सरको उपचार नपाएर कुनै पनि बालबालिकाकाे ज्यान नजाओस् भन्ने हो’

नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर रोग लागेर निको भएका बालबालिकाहरूको ‘र्‍याम्प वाक’ गर्दैछ। ‘सुदिप्त बाल क्यान्सर सर्भाइभर र्‍याम्प वाक’ नाम दिइएको कार्यक्रम आगामी असार २८ मा  काठमाडौंमा हुँदैछ।

क्यान्सर लागेका बालबालिकालाई लिएर गर्न लागेको यो र्‍याम्प वाक कस्तो खालको हो र यसले के सन्देश दिन खोजेको हो भन्ने विषयमा याे कार्यक्रमकी संयोजक स्वरूपा श्रेष्ठसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

क्यान्सर सर्भाइभरलाई लिएर ‘र्‍याम्प सो’ गरेलगत्तै बालबालिकाको र्‍याम्प वाक गर्दै हुनुहुन्छ? यो कस्तो किसिमको वाक हो?

यो ‘र्‍याम्प सो’ होइन ‘वाक’ हो। यो अन्य फेसन वा र्‍याम्प वाक भन्दा अत्यन्त फरक किसिमको हो । अझ भनौँ विशेष किसिमको जनचेतना फैलाउने उद्देश्यले यो वाक गर्न लागिएको हो। क्यान्सर पनि अन्य रोग जस्तै निको हुन्छ। क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन भनेर सन्देश दिनु नै यो वाकको मुख्य उद्देश्य हो।

यसमा विभिन्न खालका क्यान्सर लागेर निको भइसकेका र उपचार गराइरहेका बालबालिका सहभागी हुनेछन्। क्यान्सर विजेता र उनीहरूको उपचार गर्ने चिकित्सक सँगसँगै र्‍याम्पमा हिँड्नेछन्। सम्भवतः यस्तो खालको वाक पनि नेपालमै पहिलोपटक हुँदैछ।

के सन्देश दिन खोज्नुभएको हो यो र्‍याम्प वाकबाट?

तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो। धेरैले क्यान्सर लुकाएर बस्छन्। अझै पनि यसलाई हाउगुजीकै रूपमा लिइन्छ। बालबालिकालाई क्यान्सर लाग्यो भने त परिवारले झन् बताउनै चाहँदैन। यो रोग लुकाएर राख्ने होइन, उपचार गरेर निको हुन्छ भन्ने सन्देश दिन जरुरी छ भन्ने मलाई लाग्छ।

त्यसैले हामीले अस्पतालमा प्रत्येक महिना सभाईभर मिट गर्छौँ, आफूजस्तै क्यान्सर लागेका व्यक्ति देख्दा सबैको आत्मबल बलियो हुन्छ। ‘यो रोग मलाई मात्र होइन, अरुलाई पनि रै’छ भन्ने हुन्छ। यसका कारण उपचारमा पनि सजिलो हुन्छ।’

यससँगै नेपालमै क्यान्सरको उपचार छ र यो अन्य रोग जस्तै समयमै उपचार गरे निको हुन्छ। क्यान्सरपछि पनि जीवन जिउन सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो। चिकित्सकका अनुसार बालबालिकाको क्यान्सर त ८० प्रतिशत पूर्णरूपमा निको पार्न सकिन्छ। उपचार पछि उनीहरू ‘नर्मल लाइफ’ जिउन सक्छन्। यस्तोमा पनि बाबुआमाले नै लुकाएर बच्चाको उपचार गराइरहेका हुन्छन्। क्यान्सर लाग्नुमा न त बच्चाको दोष छ, न त बाबुआमाको त्यसैले यसलाई कसैबाट पनि लुकाएर उपचार गर्न जरुरी छैन भन्ने सन्देश दिन चाहन्छौँ हामी। साथै यसबाट उठेको रकमबाट आर्थिक रुपमा विपन्न बालबालिकाको क्यान्सर उपचारमा सहयोग गर्ने लक्ष्य पनि छ ।

उपचारपछि निको भएका बिरामीले म उपचार पछि क्यान्सरबाट मुक्त भएँ भनेर खुलेर आउँदा अर्को बिरामीलाई म पनि निको हुन्छु भन्ने मनोबल बढ्छ। हामीले क्यान्सरका बिरामीलाई मनोबल बढाउन खोजेका हौँ,  यसपाली विशेषगरी बालबालिकाको। अर्को कुरा अहिले नेपालमै विशेषज्ञ चिकित्सक र राम्रा अस्पताल छन्। सबै खालका क्यान्सरको उपचार सम्भव छ। उपचार गर्न विदेशिनु पनि पर्दैन। यसबारे पनि बुझ्न जरुरी छ। यसलाई रोक्न यो वाकले  केही हदसम्म सहयोग गर्छ भन्ने मलाई लाग्छ।

कति बालबालिका सहभागी हुँदैछन्, यो वाकमा?

यो र्‍याम्प वाकमा हामीले विभिन्न क्यान्सर लागेर निको भएका र उपचार गराइरहेका मध्ये ५० जना बालबालिका सहभागी गराउनेछौँ । यो संख्या केही बढ्न पनि सक्छ। यसभन्दा अघि पनि हामीले क्यान्सर सभाइभर र्‍याम्प सो गर्दा शुरुमा आनाकानी गर्ने विजेताहरू अन्तिम समयसम्म पनि आउनु भएको थियो । अहिले पनि बालबालिकालाई अघि ल्याउन गाह्रो छ । तर पनि यो उहाँहरुकै लागि हो भनेर हामीले सम्झाएका छौँ।

यो कार्यक्रममा उठ्ने रकम विपन्न बालबालिकाको क्यान्सर उपचारमै खर्च गर्नेछौँ। हाम्रो मुख्य उद्देश्य क्यान्सरको उपचार नपाएर कसैकाे ज्यान नजाओस् भन्ने हो। यसमा भर्खर जन्मेदेखि १८ वर्ष सम्मका बालबालिकाले भाग लिन सक्नेछन्। यसले बालबालिकामा हुने क्यान्सरको बारेमा छलफल अघि बढ्नेछ भन्ने मलाई लाग्छ। किनकी पछिल्लो समय क्यान्सरको कुरा हुन त थालेको छ तर बालबालिकामा हुने क्यान्सरबारे अझै पनि खुलेको पाइँदैन । त्यसैले याे वाक जरूरी ठानिएकाे हाे ।

क्यान्सर विजेता स–साना बालबालिकालाई एकै ठाउँमा ल्याउन कत्तिको सजिलो छ?

पक्कै पनि सजिलो छैन। असाध्यै गाह्रो काम हो यो। हामीले योभन्दा अघि गरेको र्याम्प सोमा पनि त्यक्तिकै मेहनत गर्नुपरेको थियो। मलाई क्यान्सर लागेको छ भनेर कमै मात्र बाहिर खुल्न चाहन्छन्। अझ बालबालिकाको विषयमा त अभिभावक बढी संवेदनशील हुन्छन्। बच्चाको भविष्यका लागि अप्ठेरो हुन्छ भनेर साेचेर होला उनीहरू सकेसम्म खुल्न खोज्दैनन्।

र्‍याम्पमा हिँडेपछि क्यान्सर छ भनेर सबैलाई थाहा हुने डरले पनि धेरै जना पछि हट्ने हुन्छ नै।  उनीहरूलाई यहाँसम्म ल्याउन गाह्रो त छ नै। यस्तै कामलाई सजिलो बनाउन कसै न कसैले त बाटो बनाउनुपर्यो नि! हामी त्यसैमा लागिरहेका छौँ।

उपचारपछि निको भएका बिरामीले ‘म उपचार पछि क्यान्सरबाट मुक्त भएँ’ भनेर खुलेर आउँदा अर्को बिरामीलाई ‘म पनि निको हुन्छु’ भन्ने मनोबल बढ्छ। हामीले क्यान्सरका बिरामीकाे मनोबल बढाउन खोजेका हौँ। यसमा सबैकाे साथकाे अपेक्षा गरेका छाैं। source: healthtvonline